एमाले महाधिवेशनको बन्दसत्र सुरू

सौराहा — नेकपा (एमाले) को जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरू भएको छ ।

शनिबार बिहान १० बजे हुने भनिएको बन्दसत्र सहमतिको प्रयास जारीका कारण दिउँसो १ बजेपछि सुरू भएको हो ।

बिज्ञापन

बन्दसत्र सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा भइरहेको छ । बन्दसत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ ।

बन्दसत्र सुरू हुनुअघि प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका थिए । त्यसपछि  शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त हुँदा बन्दसत्रमा ढिलाई भएको हो ।

महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।  बन्दसत्रमा सहमति नभए निर्वाचन गर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ ।

सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो ।

बन्दसत्रस्थलमा चितवनको चिनारी चिनाउने र स्थानीय उत्पादन तथा विभिन्न माक्र्सवादी पुस्तकका कक्ष राखिएका छन् । प्रतिनिधिको स्वास्थ्य व्यवस्थापनका लागि पार्टीको स्वास्थ्य समितिले निःशुल्क शिविर खडा गरेको छ ।

बन्दसत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने पार्टीले करिब ५०० स्वयंसेवक परिचालन गरेको छ । सो स्थलमा काल माक्र्सको मूर्ति, जननेता मदनकुमार भण्डारी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको तस्बीर सजाइएको छ ।

पार्टीको केन्द्रीय प्रचार कमिटीले बन्दसत्रस्थल नजिकैको होटेल रोयल सफारीमा मिडिया सेन्टर सञ्चालन गरेको छ भने प्रेस चौतारी नेपाल, चितवन शाखाले सो स्थलमा सञ्चारकर्मीका लागि सहायता कक्षा खडा गरेको छ ।

एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार भएको थियो ।