
काठमाडौं — नेपाली महिला क्रिकेट टोलीकी सीता रानामगरले हङकङमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छन् । योसँगै सीता विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् ।
क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान समेत रहेकी रानामगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने जानकारी शनिबार दिएको हो । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ ।
फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता आगामी सन् २०२२ मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रीत कौर, पाकिस्तानकि सना मिरको सहभागीता हुनेछ । सीताले कुन टोलीबाट खेल्ने भन्ने फाइनल भएको छैन ।
सीताले पहिलो पटक विदेशी लिग खेल्न पाउँदा खुसी लागेको बताएकी छन् । साथै उनले आफूले विदेशी लिग खेल्न पाउँदा अन्य नेपाली खेलाडीले पनि अवसर पाउने बताइन् ।
सीताले सन् २००७ मा नेपाली टोलीबाट डेब्यु गरेकी थिइन् ।