
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १४ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ७८ रूपैयाँ ६८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४ सय ३१ रुपैयाँ ७० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।



बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको मंसिर ९ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ६२ औँ वार्षिक साधारण सभा पौष २ गते, शुक्रबार नेपाल बैंक लिमिटेडको केन्द्रिय कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।