
गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो । मदाने–५ मलायगिरीका चार वर्षीय बालक कुलदीप र १३ वर्षीया बालिका लक्ष्मी विक चार वर्षदेखि अभिभावकविहीन थिए ।
मालिका–३ ह्वाङदीका पाँच वर्षीय सन्दीप र तीन वर्षीय प्रदीप घर्ति मगर १४ महिनादेखि अभिभावविहीन भएका थिए । लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसँग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेस भएको थियो । बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसोएसमा बालबालिका भर्ना गरिएको इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिनुभयो । मदानेका दुई दिदीभाइ गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाइ वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गर्नुभएको हो ।
एसोएस भैरहवाको टोलीले कात्तिक ११ गते गाउँ आएर बालबालिकाको वास्तविक अवस्थाको प्रतिवेदन बनाएको थियो । प्रतिवेदनका आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो ।
भर्ना भएकामध्ये दिदी लक्ष्मी विक काठमाडाँै होटलमा काम गर्थिन् । ढकालले अभिभावकविहीन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसोएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताउनुभयो । एसोएसको सिद्धान्तमा पनि भाइबहिनीलाई छुटाउन नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकामा ढकालले खुसी व्यक्त गर्नुभयो ।