सिंहपछि निधिले पनि भने– दोस्रो चरणको चुनावमा मेरो समर्थन देउवालाई

काठमाडौं — नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन् ।

उनको निवास पुगेका देउवासँगको भेटमा निधिले सो कुरा बताएका हुन् ।

बिज्ञापन

यसअघि नेपाली कांग्रेसको सभापतिका प्रत्यासी प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणमा मतदान हुँदैछ ।
मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२३, सिंहले ३६०, निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।

अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।