
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आनीबानी बिग्रेका कर्मचारीलाई सुधार्ने अभियान जारी नै रहेको बताएका छन्।




संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बोल्दै मन्त्री पण्डितले कार्यालयमा आएर मनपरी गर्ने कर्मचारीले हैरान बनाएको टिप्पणी गरे।

‘अफिस टाइममा कर्मचारीका लागि कसरी व्यवस्थित गर्ने भन्ने सोच्नु पर्ने भा’को छ’, पण्डितले भने, ‘तितो शब्दमा भन्नुपर्दा हाम्रा कर्मचारीका आनीबानी बिग्रेका छन्। त्यसैले पहिलो पटक मन्त्री हुँदा मैले दुईवटा काम गर्न खोजेको थिएँ। अहिले त्यसैलाई अघि बढाउने कोशिश गरिरहेको छु।’
डिभी पिआरवाला कर्मचारीले अहिले पनि सताउन नछाडेको उनले बताए। ‘डिभी पिआरवालालाई व्यवस्थित गर्न पहिले सकिनँ, अहिले त्यसैमा जुटिरहेको छु’, उनले भने।
कार्यालयमा आफू पुग्दा कर्मचारीहरु टेलिफोनमा मात्रै झुन्डिएर बसेको भेटिने बताउँदै पण्डितले दक्षिण कोरियाको उदाहरण दिएर सुधार गर्न सकिने बताए । ‘दक्षिण कोरियामा अफिसको फोन निजी काममा प्रयोग गर्ने कर्मचारीलाई कारबाही हुन्छ। फोनको बिल पनि उसैलाई तिराइन्छ’, उनले भने, ‘यसलाई अनुशासनहीन कामका रुपमा लिइन्छ । तर हाम्रोमा भने त्यस्तो छैन, मनपरी छ कर्मचारीको।’
नेपालकै निजी बैंकमा कर्मचारीलाई कार्यालयको टेलिफोन चलाउन निषेध गरिएको बताउँदै सरकारी कार्यालयमा पनि त्यो लागू गर्नुपर्नेमा जोड दिए। ‘निजी बैंकले केही अभ्यास गरको छन्, त्यो राम्रो छ । हाम्रो कर्मचारीतन्त्रमा कार्यालय समयमा निजी काम निजी फोन प्रयोग रोक लाग्नुपर्छ’, उनले भने, त्यस्तो काम गर्नेलाई कार्यसम्पदानसँग जोडेर कारबाही गर्ने स्पष्ट व्यवस्था गरौँ।’
मन्त्री पण्डितले कर्मचारीलाई दिइने विदाबारे बोल्दै जथाभावी बढी बिदा बस्दा सेवा प्रवाहमा समस्या भएको बताए। ‘कतिपय कर्मचारी यताबाट अध्ययन भनेर जान्छन्। उता डिभी पिआर लिएर बस्छन्’, उनले भने, ‘दशौँ वर्षसम्म उतैबाट नफर्कने गर्छन्। अझै फर्किएका छैनन्। अध्यय बिदा दिएर सरकारले पढ्न पठाउने हो।’
अध्ययन विदामा गएको एकजन कर्मचारीलाई सर्टिफिकेट पेश गर्न आग्रह गर्दा राजनीतिक दबाब दिएकाले आफूले जागिरबाटै हटाइदिएको उनले स्मरण गरे।
‘अध्ययनमा गएको खर्च सरकारले व्यहोर्छ। असाधारण विदा पनि दिने चलन छ । एकजना कर्मचारी पहिले विदेश गए फर्केर आए। सर्टिफिकेट बुझा भन्दा बुभाएनन्’, उनले भने, ‘१५ औँ दिनमा राजनीतिक दबाब लिएर आउँदा जागिरबाटै हटाइदिएँ।’
अबदेखि अध्ययन विदामा विदेश जानेसँग प्रत्येक ६ महिनामा पढिरहेको क्याम्पसको आधिकारिक पत्र पठाउनुपर्ने व्यवस्था गर्न लागिउको उनले जानकारी दिए। ‘त्यसरी अध्ययन विदामा जानेहरुको हरेक ६ महिना पढिरहेको क्याम्पसको आधिकारिक पत्र पठाउनुपर्ने व्यवस्था गरेका छौँ’, उनले भने, ‘त्यसो भएमा ६ महिना मात्रै ढाँट्न पाउँछन्।