विपद्का कारण जोखिममा परेका बस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु :हिक्मत कुमार कार्की

दमक / कोशी प्रदेश सरकारले प्राकृतिक विपद्का कारण जोखिममा परेका बस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को हालै सम्पन्न बैठकले तत्काल जोखिममा रहेका ४ हजार १ सय ५१ परिवारको स्थानान्तरणका लागि कार्ययोजना अघि बढाउने निर्णय गरेको हो।  साे बैठकले २०८२–८७ सम्मका लागि विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना र चालू वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पनि पारित गरेको छ।

उक्त बैठकलाई  सम्बोधन गर्दै कार्कीले प्रदेशमा मनसुन यसपटक पहिले भन्दा चाडै सुरु भएको र ढिलोसम्म रहने सम्भावना भएकाले सरकार उच्च सतर्कताका साथ जुट्नुपर्ने अवस्था आएको बताएका छन्। “विपद् न्यूनीकरणको काममा ढिलाइ सह्य छैन,” उनले भने, “जोखिमयुक्त क्षेत्रका घरधुरी स्थानान्तरण गर्न र नयाँ सुरक्षित बस्ती निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघसंस्थासँग सहकार्य गर्नुपर्छ।”