
काठमाडौँ : नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोली आज सोमबार बंगलादेश प्रस्थान गरेका छन् । ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन नेपाली टोली ढाका गरेका हुन् ।
बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टोलीसँगै एशियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्ण प्रसाद चौलागाई नेपालको तर्फबाट निर्णायकको रुपमा गएका छन्। राष्ट्रिय टोली र निर्णायकलाई आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बिदाई गरेका थिए।
सेन्ट्रल जोनको साबिक विजेता महिला टोलीले पुष ८ गते श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। त्यही दिन पुरुष टोलीले भने उज्वेकिस्तानसँग खेल्ने तालिका छ। पुष ९ गते पुरुष टोलीले आयोजक बंगलादेशसँग खेल्दा महिला टोलीले भने माल्दिभ्ससँग खेल्नेछ।
१० गते महिला टोलीले घरेलु टोलीसँग र पुरुष टोलीले माल्दिभ्ससँग स्पर्धा गर्नेछ। पुष ११ गते महिला टोलीले उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
सोही दिन पुरुष टोलीले भने लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ। लिग चरणको अन्तिम खेलमा महिला टोलीले १२ गते किर्गीस्तानसँग खेल्नेछ। राउण्ड रोविनमा हुन च्याम्पियनसिपपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि स्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। फाइनल खेल १४ गते हुनेछ। च्याम्पियनसिपमा महिलातर्फ ६ र पुरुषतर्फ ५ टोलीले खेल्नेछन्।