हेलिकोप्टरबाट डोजर लगेर सिस्ने हिमालको काखमा सडक बनाइँदै

जाजरकोट : सडकको अस्थायी ट्रयाक खोल्नका लागि जाजरकोटको आठबीसकोट नगरपालिकामा हेलिकोप्टरमा डोजर ढुवानी गरिएको छ। अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए ।

उनका अनुसार आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको छ । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ।

बिज्ञापन

सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको केसी बताए । नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो ।

सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ । वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो ।