प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संसद भवन बानेश्वरमा बैठक बस्न लागेकाे हाे । आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। एमालेले दशौं अधिवेशनका बैठकमा अवरोध गरिरहेको छ। यसअघि बसेको बैठकमा एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए। विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरिरहेको हो ।

यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीअनुसार सूचना जारी नगरेको एमालेको आरोप छ । एमालेले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुख सापकोटाले नटाँसेसम्म संसद चल्न नदिने अडान लिएको छ।