यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार तराईका धेरैजसो भू-भागहरूमा हुस्सु-कुहिरो लागेको भएपनि अन्य भू-भागको मौसम भने सामान्यतया सफा रहेको छ।

मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिज्ञापन

बुधबार पनि सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। केहि दिन बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु-कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।