
रुपन्देही – सीके राउत नेतृत्वको जनमत पार्टीले एक सातादेखि रुपन्देहीमा दिनहुँ प्रदर्शन गरिरहेको छ ।विभिन्न माग राख्दै राजमार्ग बन्ददेखि सडक प्रदर्शनसम्म गर्दै आएको सो पार्टीले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।
किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका हुन् ।उनीहरुले भैरहवा–लुम्बिनी सडक खण्ड र भैरहवा–परासी सडक खण्ड अवरुद्ध पारेपछि प्रहरीले गत आइतबार १२ जनालाई पक्राउ गरेको थियो ।
जनमत पार्टीका कार्यकर्ताले खासगरी रुपन्देहीको बनगाइ र धकधईमा सडक अवरुद्ध गर्दै आएका छन् । जनमत पार्टीका कार्यकर्ता लाठी–भाटा बोकेर प्रदर्शनमासमेत उत्रिने गरेका छन् ।
आइतबार भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत बनगाई चोकमा चक्काजाम गर्न आएका कार्यकर्तालाई प्रहरीले हटाएपछि उनीहरुले भैरहवा परासी खण्डको धकधही चोकमा चक्काजाम गरेका थिए ।
किसानमाथिको दमन बन्द गर्नुपर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सिंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग जनमत पार्टीले राखेको छ ।