५५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ – तुलसिपुरमा नेटवर्किङ बिजनेशका नाममा कार्यालय खोली समूह बनाउने बाहानामा लाखौँ रकम गठी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

गैरकानुनिरुपमा हाइपर लगायतको नेटवर्किङ बिजनेशमा लाखौँ रुपैयाँ लगाएर तुलसीपुर उपमहानगरपालिका वडा नं ६ डुम्रीगाउँमा खोलिएको फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय केही दिन अघि बाँके र बर्दीयाबाट पक्राउ परेका हुन् । कम्पनीका ४८ जना पीडित कर्मचारीको जाहेरीका आधारमा घले र उपाध्यायालाई पक्राउ पछि दाङमा ल्याइ आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले जानकारी दिए ।

बिज्ञापन

उनीहरुविरुद्ध तुलसीपुर ९ बेलुवाकी ४० वर्षीया अनिता वली महतरासहित ४८ जना उक्त कम्पनीका कर्मचारीहरुले संयुक्त रुपमा इप्रका तुलसीपुरमा पक्राउ परेका घलेर उपाध्यायका साथै सुमन भनिने मानबहादुर देउवाविरुद्धमा किटानी जाहेरी दिएका थिए । देउवा भने अझैं फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षत्र बनाएर काम गर्दै आएको थियो ।

कर्मचारी खटाएर ती क्षेत्रका कृषकलाई सहयोगको नाममा शेयर सदस्य बनाउँदै प्रति किसान ५०० का दरले रकम संकलन गरेको थियो ।

त्यसरी संकलित मध्य बिमा बाफतको ९ लाख ५० हजार, कम्पनीको शेयर बनाउने भनेर ५ जनाबाट ३ लाखका दरले संकलित रकम १५ लाख, विदेश पठाइ दिने भनेर एकजनाबाट संकलित ७ लाख र ४३ जना कर्मचारीलाई ७ महिनासम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रकम समेत ठगी गरेको भन्दै पीडित ४८ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप भइ थप अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।