
काठमाडौँ, । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर बढाएपछि काठमाडौँ उपत्यकामा चल्ने ट्याक्सीको भाडा बृद्धि हुने भएको छ ।

मन्त्रालयको पुस २० गते बसेको मन्त्रिस्तरीय निर्णयअनुसार ट्याक्सी सेवा प्रदायकले सर्तहरू पालना गर्ने गरी ‘भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ बमोजिम भाडादर समायोजन तथा निर्धारण गरेको हो ।



नयाँ मूल्य अनुसार पहिलो १ किलोमिटरसम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको छ। त्यस्तै, सो १ किलोमिटरपश्चात् प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाको दरले थप हुने गरी कायम गरिएको छ ।

ट्याक्सीहरू पुर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने, ट्याक्सीमा सेवाग्राहीको सामान सुरक्षित रूपमा नजिकैको प्रहरीलाई सूचना दिने लगायतका केही ट्याक्सी सेवा प्रदायकले नियम पालना गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।