माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं — शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ । केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।