कोरोनाले ‘कलेजो फेल’ हुने जोखिम, खोपले सुरक्षा गर्न असक्षम

कोभिड– अमेरिकी युनिभर्सिटी अफ टेनेसीको एक अध्ययनले कोरोना सङ्क्रमण भएका ११ प्रतिशत बिरामीमा कलेजोसम्बन्धी समस्या आउने बताएको छ । कोरोनाविरुद्ध बनाइएका खोपहरु मानिसको कलेजो बचाउन सक्षम नभएको डाक्टरहरूको दाबी छ ।

अध्ययनका अनुसार कोरोना भाइरसले कलेजोमा हुने महत्त्वपूर्ण एन्जाइम्सको मात्रा बढाइदिन्छ । उक्त एन्जाइमको नाम एलेनिन एमिनोट्रान्स्फरेज र एस्परटेट एमिनोट्रान्स्फरेज हो । अध्ययनका अनुसार कोरोना भएका १५ देखि ५३ प्रतिशत मानिसहरुको कलेजोमा उक्त एन्जाइम्सको मात्रा अधिक पाइएको छ । ती व्यक्तिहरुको कलेजो स्थायी रुपमा नै खराब भइसकेको थियो ।

कोरोनाका थुप्रै प्रकारका भेरियन्टहरु आएका छन् । जसमध्ये डेल्टा र ओमिक्रोनले कलेजोको मुख्य कोशिकाहरुमा नराम्रो असर पार्छ । जसले गर्दा कलेजोको कार्य ढिलो गराइदिन्छ । कोरोना संक्रमितहरुलाई दिने औषधिले पनि कलेजोलाई बिगार्ने सम्भावना हुन्छ ।

कोरोना संक्रमण भएपछि कलेजो सुन्निने र जण्डिस हुने सम्भावना हुन्छ । यसका साथै, संक्रमितको कलेजो फेल हुने सम्भावना पनि उत्तिकै हुन्छ । वैज्ञानिकका अनुसार मानिसमा पहिलेदेखि नै कलेजोसम्बन्धी समस्या छ भने कोरोनाले झन् संक्रमण बढाउने र मृत्यु समेत हुन सक्छ ।

भारतको म्याक्स हस्पिटलका डा. जतिन अग्रवालले कोरोनाको लक्षण नदेखिए पनि शरीरका अंगहरू खराब हुन सक्ने बताएका छन् । लक्षण  नदेखिएका धेरै संक्रमितको पनि कलेजोमा असर परेको उनले बताए ।

डा. अग्रवालका अनुसार कोरोनाविरुद्ध बनेका खोपहरुले पनि कलेजोलाई सुरक्षा दिन सक्दैनन् । खोपले शरीरमा हुने संक्रमणलाई गम्भीर हुन नदिने मात्रै भएकाले कलेजोमा हुने संक्रमण नरोक्ने उनको भनाइ छ ।