
काठमडौं: नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकमा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ८७ देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी रोमिङ सेवा उपलब्ध गराएको हो । सेवा उपलव्ध गराइएका मध्ये ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।




कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा सहुलियत प्रदान गरिएको हो । कम्पनीले गत वैशाख १६ गतेदेखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । रोमिङ सुविधा लिएका नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो ।।
