
बैतडी – बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ।
गत शुक्रबार स्थानीय ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको मृत्यु भएको उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिको घटनाबारे प्रहरीलाई जानकारी दिइएको छैन ।
घटना गत शुक्रबार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए ।
मृतकको आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जालमार्फत आग्रह गरिएको छ ।मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी तथा ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।