
काठमाडौँ : निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । आज निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताका हुन् ।
उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताएका छन् । नेता पोख्रेलले प्रतिष्ठानमा अहिले १५० वटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।
नेता पोख्रेलले भने, ‘आईसीयू बेड वितरण हामीले सरकारी अस्पताल र सामुदायिक अस्पताललाई हस्तान्तरण गरेका हौँ । अन्यत्र प्राइवेटमा नदिने भनेर प्राइवेट मुनाफा बोकेको मुनाफामुखी हुन् । सरकारी र सामुदायिक अस्पतालमा वितरण गर्ने भनेर हामीले यो कुरा गरेका हौँ । त्यसैले पहिलो हाम्रो प्राथमिकता वीर अस्पताल नै थियो जनताको । हामीले हाम्रो संविधानमा शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने भनेका छौँ ।
हाम्रो प्रयत्न भनेको शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ । यो मौलिक अधिकार हो, फन्डामेण्टल राइट हो । पैसा हुनेले स्वास्थ्य किन्ने, पैसा हुनेले शिक्षा किन्ने प्रणालीको अन्त्य गरेर आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यता अन्तर्गत हामी स्वास्थ्य र शिक्षा क्षेत्रलाई त्यो दिशामा लैजानुपर्छ भन्ने मान्यता राखेका थियौँ ।’
त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताएका हुन् । उनले प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने बताएका छन् ।
डा. बस्नेतले भने, ‘अहिले दुई तीन वटा आईसीयू त अलरेडि फङ्सनिङ छ । हामीलाई एउटा आईसीयूको लागि एफएचआइयूएसएडले ५० वटा बेड भेन्टिलेटरसहित सम्पूर्ण सामान दिएको छ । सूर्य नेपालले १०० वटा बेड दिएको छ । एफएचआईले नै १०० बेड अर्को थपेको छ ।
यहाँहरुले आज ३० वटा आईसीयू बेड दिनुभएको छ । एउटा आईसीयू खालि हामी त्यसमा राखेर आजैबाट सेवा शुरु गर्नेछौँ । यो सबैको सहयोगले गर्दा तेस्रो लहरमा कोरोनाका बिरामीहरु आज पनि १६०\१७० जना बिरामीहरु छन् ।
सबैको उपचार सहज रुपले भएको छ । आज अक्सिजन, बेड, भेन्टिलेटर पाइएन भन्ने नै छैन ।’ डा. बस्नेतले संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको पनि बताएका छन् ।