
काठमाडौँ । दुई महिनाभित्र पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार विश्वविद्यालयका पदाधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग छलफल गरेपनि यस्तो निर्णय गरेको हो ।
विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयमा पिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको बताए । त्यसका लागि अहिले भौतिक संरचनाको काम भइरहेको छ । यसअघि बसेको विश्वविद्यालयको सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमा समेत निर्णय गरिसकेको थियो ।
छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे । भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्स तयार गर्न उनको सुझाव छ ।
विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलले जानकारी दिएको छ । उनले विश्वविद्यालयको सुधारको लागि अन्य विश्वविद्यालयसँगसमेत छलफल गर्ने तयारी भएको जनाएको छ ।
मन्त्री पौडेलले विश्वविद्यालय सुधारको लागि नीतिगत पहल गर्न समेत विश्वविद्यालय पदाधिकारीलाई निर्देशन दिएको छ ।