बुधबारको संसद बैठकमा एमसीसी पेश हुन सक्छ : शशांक कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले भोलिको संसद् बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुने बताएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले बुधबार बस्ने संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेको बताएका हुन्।

उनले एमसीसी नेपालको हितमा रहेको बताए । ‘एमसीसीबारे हामीले छलफल गरेका छौँ। एमसीसीको सफल कार्यान्वयनबारे डा। रामशरण महतले सबैलाई जानकारी गराउनुभएको छ,’ कोइरालाले भने, ‘सम्भवतः भोलिको संसद् बैठकमा एमसीसी पेश गर्ने गरी तयारी हुँदैछ। 

उनले एमसीसी लागू भएका विश्वका अन्य मुलुकमा अमेरिकी सेना प्रवेश नगरेको जिकिर गर्दै कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रष्ट रहेको पनि बताएका छन्।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । बुधबारको बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेश गर्नेबारे बैठकमा छलफल भएको उनले बताए ।