पिडित बिताउछ्न खुल्ला आकाशमा रात, राहत बाड्न नेता पुगे रित्तो हात

बारा । कलैया–वीरगञ्ज हुलाकी राजमार्गसँगै जोडिएको छ, बाराको फेटा गाउँपालिका । राजमार्गबाट मुश्किलले ५ सय मीटर दक्षिणमा पर्छ, भलुही भरवलिया टोल। आइतवार साँझको आँधीले सबैभन्दा बढी क्षति पुर्‍याएको यो टोलमा त्यसयता झन्डावाला गाडीको लर्को देख्न पाइन्छ, त्यो पनि सुरक्षाकर्मीका अगुवापछुवा सहित। भीआईपी र तिनका समर्थकको भीड हेर्दा लाग्छ, यहाँ कुनै ‘मेला’को माहौल छ । आँधीहुरी पीडितको पीडामा यो भीडले मल्हम लगाउन त सकेको छैन, बरु निराशा थपेको छ।

बिज्ञापन

फेटाको पुरैनिया र भरवलियामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति पुगेको छ । बारामा आँधीहुरीमा ज्यान जानेको संख्या २९ छ । ५ सयभन्दा बढी घाइते भएका छन् । तीमध्ये अधिकांश यिनै टोलका हुन् । उनीहरूको उपचारमा कठिनाइ भइरहेको छ ।

भरभरिया टोलका राजकुमारलाई गाउँमा नौलो मानिस देख्यो कि राहतको आश पलाउँछ । भीआईपी सवारी देख्नेबित्तिकै राहतको आशा जगाउने पीडितले अहिलेसम्म राहतभन्दा बढी भीआईपीको आश्वासन मात्र सुनेका छन् । ‘रेडियोमा सरकारले यति र उति राहत घोषणा गरेको सुनिन्छ । हामी भने एकमुठी चिउरा चपाएर ३ दिनदेखि खुला अकाशमुनि बस्न विवश छौं,’ राजकुमारको गुनासो छ ।

आँधीको वितण्डापछि देशका अधिकांश भीआईपीहरूले यी टोलमा फन्को लगाइसकेका छन् । भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा अवलोकनमा उत्रिए । कलैया र वीरगन्जका अस्पतालमा घाइतेलाई भेटेका उनीहरूले घटनास्थलको भने हवाई निरीक्षण गरे । देशका प्रधानमन्त्रीले हेलिकोप्टरबाटै भत्किएका घर हेरेर गएकामा स्थानीय बासिन्दामा असन्तोष देखिन्छ । प्रधानमन्त्रीको यस्तो निरीक्षणप्रति प्रदेश–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले कटाक्ष गर्दै भनेका छन्, ‘हेलिकोप्टरबाट हेरेर पीडितलाई राहत हुँदैन । यहाँ त राति सुत्नलाई त्रिपालको खाँचो छ ।’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानन्त्री शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उद्योगमन्त्री मातृका यादव लगायत नेताले मंगलवार प्रभावित क्षेत्रको अवलोकन मात्र गरेनन्, आर्थिक सहयोगको घोषणासमेत गरे । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी लगायत नेता पनि त्यहाँ पुगेका छन् ।

‘अवलोकनमा नेताहरूको प्रतिस्पर्धाजस्तै देखिएको छ । तर, पीडितका लागि राहत र व्यवस्थापन भने अत्यन्तै कमजोर भयो,’ एक स्थानीय अगुवाले सञ्चारकर्मीहरूसित गुनासो गरे।

बाराका आँधीहुरी प्रभावितलाई सहयोग घोषणा गर्नेको कमी छैन । संघीयदेखि प्रदेश सरकार र नेताहरूले दलगत र व्यक्तिगत रूपमा सहयोगको आश्वासन दिएका छन्। मंगलवार मात्रै कांग्रेस सभापति देउवाले २५ लाख र नेकपा अध्यक्ष दाहालले मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले सहयोग दिने घोषणा गरे । प्रदेश–२ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । प्रदेश–३ र सुदूरपश्चिम प्रदेशले १र१ करोड रुपैयाँको सहयोग दिने भएका छन् । लाखौं रुपैयाँ सहयोगको कुरा सुनेका पीडित रात बिताउन एउटा त्रिपाल र झुलको आशमा दिनभरि आँखा बिछ्याउँछन् । दिउँसोभरि भीआईपीका गाडीले उडाएको धूलो साँझतिर मत्थर हुँदै जान्छ । तर, पीडितको छटपटी भने बढ्न थाल्छ– दिन त जसोतसो बित्यो, अब रात कसरी कटाउने ?

स्थलगत अवलोकनमा भेटिएका प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले पीडितलाई तत्कालीन व्यवस्थापनका लागि प्रदेश सरकारले टोली बनाएको बताए । ‘तत्कालीन व्यवस्थापन र पुनःस्थापनाका लागि प्रदेश सरकार सहयोगका लागि तयार छ,’मुख्यमन्त्री राउतले भने । स्थानीय स्तरमा त्रिपाल र खानाको व्यवस्था मिलाइएको उनले बताए । केही संघसंस्थाले स्वैच्छिक रूपमा राहत सामग्री वितरण गरेका छन् । वितरणमा समन्वय नहुँदा कहीँ राहतको खात त कतै रित्तो हात भइरहेको स्थानीय बासिन्दाको गुनासो छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल भने सरकारी र संघसंस्थाको राहत सामग्रीको प्रभावकारी वितरणका लागि समन्वय भइरहेको दाबी गर्छन् । यो समाचार अभियान दैनिकले छापेको छ।