
महोत्तरी । नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएको अधिवेशन स्थगित भएको छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएको एमाले महोत्तरीले जनाएको छ ।

आन्तरिक कलहका कारण पटक-पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो ।



प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले बुधबार (११ फागुन) हुने भनिएको अधिवेशन स्थगित भएको हो ।

‘भोलि निर्धारण गरिएको अधिवेशन हुन नसक्ने देखिएको छ । अब प्रदेश र केन्द्रसँग समन्वय गरेर पुन: गृहकार्य गर्छौं,झ केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भनेका छन् ।’
यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागि परेको एक पक्षको आरोप छ । अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ ।