गठबन्धन जोगाइदिन प्रचण्ड–नेपालले हारगुहार गरे : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)को सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् ।
शनिबार काठमाडौंमा एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीका विषयमा आफूहरू तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताए ।

एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि उनले बताए । सभामुख अग्निप्रसाद सापकोटाका कारण एमाले संसद्को कारबाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उनले उल्लेख गरे ।
सत्ता गठबन्धन जोगाइदिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हारगुहार गरिरहेको उनको भनाइ छ । एमाले–नेपाली कांग्रेसको छलफलले उनीहरूको सातो गएको ओलीले जिकिर गरे ।

बिज्ञापन

ओलीले भने, ‘एमसिसी गठबन्धनमा कुरा नमिलेपछि कांग्रेसले हामीसँग कुरा अगाडि बढायो । तर, गठबन्धन टुट्छ भनेर साथीहरूको सातो गएछ । हिजो प्रचण्ड माधवले कुद्यै गएर एमसिसी हामी पास गर्छौं, ओलीलाई जस दिनु हुँदैन भनेर हारगुहार गरेछन् । हामीलाई सडकमा नफाल्दिनुस् प्रभु भनेर हारगुहार गरेपछि प्रधानमन्त्रीले हेर्छु कति इमानदार रहेछौ भनेर पठाएका रहेछन् ।’

ओलीले भने, ‘खुरुखुरु कार्यान्वयन गर्ने सोच उहाँहरूको थियो । अमेरिकाले संसदमा पेश गर्न जोड दियो । सम्झौता सुटुक्क प्रचण्डले पास गर्न खोजेका थिए । तर, मैले जनताको प्रतिनिधित्व गर्ने स्थानमा लानुपर्छ भनेर नै संसदमा लगेको हुँ । संसद् छल्ने नीति लिने, जनतालाई थाहा नै नदिई पास गर्नु खोज्ने । त्यो एमालेले गर्दैन त्यसैले संसदमा ल्यायौँ ।’
प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त पत्र लेखेर चार पाँच महिनामा एमसिसी पास गर्ने प्रतिबद्धता सहिको निवेदन अमेरिकालाई पठाइसकेकाले त्यसबारेमा अलमलिनुपर्ने कुनै कारण नभएको उनले औँल्याए
उनले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरू एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी पनि गरे । अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले ‘फुल बेन्च’लाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधान बाहिर गएर सरकार परिवर्तनको फैसला गरेको पुष्टि गरिसकेको तर्क उनले गरे ।

गठबन्धनको ध्येय न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउनु मात्र रहेको आरोप उनले लगाए । अझै पनि निर्वाचन सार्ने खेल भइरहेको भन्दै समयमा नै निर्वाचन गर्न दबाब दिनुपर्ने र समयमा नै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने उनले बताए ।
प्रचण्ड माधवलाई लक्षित गर्दै एमाले सिमलको भुवा जस्तो हावा जता चल्यो उतै जाने नभएकाले राष्ट्रहित हेरेर निर्णय गर्ने प्रष्ट पारे ।