
काठमाडौं । सरकार सञ्चालन गरिरहेको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँग आज (शनिवार) निर्णायक छलफल गर्ने भएको छ ।
आज ३ बजे एमाले अध्यक्ष ओली निवास बालकोटमा पुगेर प्रधानमन्त्री सहित कांग्रेसका नेताहरुले एमसीसी पास गर्ने विषयमा एमालेसँग निर्णायक छलफल गर्ने तयारी गरेको छ ।
त्यसभन्दा पहिले नेपाली कांग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा काँग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ ।
बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन्।