
काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा पार्टी एकता भएको एक दशकभन्दा बढी भएको नेकपा एकता केन्द्र मसालसँगको विषय पुन: छलफलमा राखिएको छ । २०६५ सालमा माओवादी र एकता केन्द्र मसालबीच पार्टी एकता भएको थियो । यति लामो समय एकता भएपनि माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा यस विषयलाई छलफलको एजेण्डाको रुपमा राखिएको छ ।
नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र र माओवादीबीच २०६५ पुस २९ गते एकता भएको थियो भने औपचारिक घोषणा २०६५ माघ २२ गते भयो र नाम एकीकृत नेकपा माओवादी केन्द्र रहन गएको थियो। पार्टी एकता भएर आएको लामो समयपछि यो एजेण्डाले पुन: माओवादीमा प्रवेश पाएको हो। नेकपा एकता केन्द्र मसालसंगको बाँकी कामबारे छलफल गर्ने एजेण्डा विविध अन्तर्गत राखिएको छ।
यसबोहक अन्य विभिन्न ६ वटा एजेण्डामा छलफल हुने भएको छ । एजेण्डामाध्ये सबैभन्दा मुख्य योजना एमसीसीको विषय रहेको छ । संसद्बाट एमसीसी पास भएपछि माओवादी पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयलाई पार्टीको प्रमुख एजेण्डाको रुपमा राखिएको छ ।
तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो नम्बरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकातर्फबट रिर्पाटिङ गर्ने र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले एमसीसीको व्याख्यात्मक घोषणासहित पास गर्ने पार्टीको निर्णयमै अहसमत जनाएका थिए ।
प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि काजीसहितका नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए। सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन्। एजेण्डाको तेस्रो नम्बरमा संगठनात्मक कामबारे छलफल हुने उल्लेख छ जहाँ महाधिवेशनबाट टुंगो लाग्न बाँकी रहेका महासचिवसहितका पदाधिकारी चयन, केन्द्रीय सदस्य थप, पोलिटब्यूरो, स्थायी समितिबारे छलफल हुनेछ ।
एजेण्डाको चौथो नम्बरमा कार्यविभाजनबारे छलफल गर्ने र पाँचौं नम्बरमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्ने उल्लेख छ । एजेण्डाको छैठौं नम्बरमा विविध विषयअन्तर्गत रामवृक्ष यादवको सालिकबारे पनि छलफल हुनेछ । माओवादीको गत महाधिवेशनमै यादवको सालिक हटाएको विषयमा नेताहरुले असन्तुष्टि राखेका थिए।
महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित खयरमारामा रामवृक्षको सालिक राखिएको थियो । पछि निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरी, यादवको सालिक हटाएर निर्मल लामाको सालिक स्थापना गरिएको थियो । यो विषयलाई लिएर माओवादीभित्र असन्तुष्टी र बहस चल्दै आएको छ ।
खासगरी पछिल्लो समय एमसीसीलाई लिएर अन्तरविरोध चर्किएपछि नारायणकाजी श्रेष्ठलाई विश्वासमा लिन यो एजेण्डालाई केन्द्रीय समितिमा पेश गरिएको हो । नागरिकता लगायतका महत्वपूर्ण विधेकहरु संसद्मा अड्किएकोले यसलाई अगाडि बढाउने लगायतका विषयलाई विविध अन्तर्गत राखिएको छ ।