राजनीतिमा जमेका कलाकार

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले शुक्रबार आफ्नो कार्यकाल पूरा गरिन् । नेपाल कम्युनिस्ट पार्टी एमाले दाङबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेकी उनले सभाको बैठकमा समसामयिक वा राजनीतिक विषयमा कुरा उठाइरहिन् । सञ्चारकर्म र साङ्गीतिक क्षेत्रमा स्थापित कोमलको यो राजनीतिक यात्रा उनका लागि विशेष बन्यो ।

एमाले केन्द्रीय सदस्य रहेकी कोमल दाङको सह–इन्चार्ज पनि हुन् । फरक परिवेशबाट राजनीतिमा उदाएकी कोमलको राजनीति प्रवेशको बुझाइ फरक छ । ‘एउटा क्षेत्रमा भिजेको मान्छे, अर्को क्षेत्रमा जान गाह्रो हुन्छ। मैले गीतसङ्गीत र पत्रकारिताको क्षेत्रबाट समाज र देशलाई कुनै न कुनै रूपमा योगदान दिइरहेको थिएँ । नीति निर्माण तहमा नपुग्दा हामीले सोचेजस्तो आमूल परिवर्तन नहुने रहेछ भन्ने अनुभव भयो’, कोमल भन्छिन्, ‘त्यसपछि प्रत्यक्ष रूपमा पूर्णकालीन राजनीतिमा समावेश भएँ भने आफ्नो तर्फबाट केही परिवर्तन ल्याउन सक्छु भन्ने लाग्यो र राजनीतिमा आउने निर्णय गरें ।’ विचार, सिद्धान्त र नेतृत्वका कारण एमालेमा आकर्षित भएको कोमल खुलाउँछिन् । ‘एमालेमा देशप्रति केही गर्ने अठोट छ । त्यो अठोट पूरा गर्न म पूर्णकालीन रूपमा एमाले राजनीतिमा आएकी हुँ ।

बिज्ञापन

शरीरले साथ दिएसम्म पूर्ण रूपमा राजनीतिमै हुन्छु’, कोमल आशावादी बन्दै भन्छिन्, ‘पार्टीले टिकट दिएमा दाङबाट चुनाव लडेर प्रतिनिधि सभामा सांसद भएर आउन चाहन्छु । नीति निर्माण बनाउने, जनताको सेवा गर्ने र हुन नसकेका कामलाई पूर्ण गर्नका लागि मेरो उपस्थिति हुनेछ ।’ अभिनेता नीर शाहको नेपाली कांग्रेससँग पुरानो सम्बन्ध छ। स्कुलमा रहँदा विद्यार्थी युनियनको अध्यक्ष र कलेजमा महामन्त्री रहेका उनलाई सानैदेखि कांग्रेस राजनीतिमा लगाव थियो । ‘मेरा काका महेन्द्रविक्रम शाह कांग्रेसको संस्थापकमै पर्नुहुन्छ । त्यहीकारण का्रंग्रेससँग म सानैदेखि नजिक छु । म विद्यार्थी जीवनदेखि नै राजनीतिमा थिएँ । त्यतिबेला कलाकारिताले अहिलेजस्तो विशाल रूप लिएको थिएन’, नीर भन्छन् । नीर जुनसुकै क्षेत्रका व्यक्तिले निश्चित राजनीतिक सिद्धान्तमा आस्था राख्ने हो भने खुल्लमखुला राजनीति गर्दा केही असर नपर्ने दाबी गर्छन् । ‘कतिपय साथीहरूले कलाकारिता क्षेत्रमा लागेको मानिस राजनीति या कुनै पार्टीमा किन गयो भन्ने कुरा गरेको सुनिन्छ । पेशागत मर्यादा ननाघेर राजनीति गर्दा हरेक कुरा ‘फेयर’ हुन्छ’, उनको बुझाइ छ, ‘कलाकारहरू पूर्ण प्रतिबद्ध भएर आउँदा केही फरक छैन ।

रहरले मात्रै आउने भए बेग्लै कुरा भयो। आफ्नो आस्थाअनुसार आउँदा केही पनि नराम्रो देख्दिनँ । कलाकार जुनसुकै पार्टीमा गए पनि भ्र्रातृत्वको सम्बन्ध यथावत् नै छ ।’ कलाकारलाई ‘राष्ट्रको गहना’ भनिए पनि नेपालको हकमा भने अधिकांश कलाकारहरू कुनै न कुनै पार्टीप्रति झुकाव राख्छन् । पार्टी प्रवेश कार्यक्रम होस् वा पार्टीका अन्य गतिविधिमा, कलाकारहरू समूहमा नै जाने गरेका छन् । कलाकारहरू एकै पार्टीमा दीर्घकालसम्म बसेको उदाहरण कमै छ । अभिनेत्री रेखा थापाको झुकाव सुरुवाती समयमा नेकपा माओवादीप्रति थियो । २१ वैशाख २०६६ मा कटवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएलगत्तै माओवादीले आयोजना गरेको ६ दिने आम हड्तालमा रेखा प्रचण्डसँग ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा नाचेकी थिइन् । त्यसपछि २०६८ सालमा उनी माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा औपचारिक प्रवेश गरिन् ।

प्रचण्डसंँग नजिक भएकै कारण दोस्रो संविधानसभामा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डको हातबाट समानुपातिक उम्मेदवारको टिकट नै पाइन् । तर मतदाता नामावलीमा नाम नभएकाले उनी सभासद् बन्न पाइनन् । माओवादीमा प्रवेश गरेको केही वर्षपछि उनी माओवादी छोडेर तत्काल्रीन समयमा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिइन् । गत मङ्सिरमा भएको राप्रपा महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी रेखालाई गत बुधबार मात्र राप्रपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । अभिनेता भुवन केसीको पनि दुःख कम छैन । नेकपा एमालेप्रति आस्था राख्ने भुवनलाई दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनाउने आश्वासन दिइएको थियो । तर अन्तिम समयमा सूचीबाट नाम हटेपछि उनी राप्रपा नेपालमा जाने मनस्थितिमा थिए । यो कुरा थाहा पाएका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले टिकट दिने प्रतिबद्धता जनाए । तर नेपालको प्रतिबद्धता पनि ‘प्रतिबद्धता’मै सीमित भयो । पार्टीभित्रको दबाबमा रातारात उनको टिकट खोसियो । अभिनेत्री करिश्मा मानन्धरले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीलाई झण्डै ३ वर्ष समय दिइन् ।

पार्टीको गठन प्रक्रियादेखि पार्टी गतिविधिसम्म उनले सक्रियता देखाइन् । तर अहिले उनले नयाँ शक्तिलाई छोडिसकेकी छन् । करिश्माको दिनचर्या अहिले फेरिएको छ । उनले पढाइलाई प्राथमिकतामा राखेकी छन् । ‘नयाँ शक्ति गठनको समयमा मेरो रुचिभन्दा पनि डा. बाबुराम भट्टराईले नेकपा माओवादी छोडेर वैकल्पिक पार्टी गठन गर्ने निर्णय लिनुभयो । उहाँले आफूलाई समाजका विभिन्न क्षेत्रका मानिसहरूको सहयोग चाहिने भनेपछि हामी विभिन्न क्षेत्रका मानिसहरू त्यहाँ जोडिएका थियौं’, करिश्माले सम्झिइन् । करिश्मा वर्तमान समयमा कुनै राजनीतिक दलसँग नजोडिए पनि विभिन्न दलका साथीभाइसँग नियमित कुराकानी हुने बताउँछिन् । ‘राजनीतिमा रुचि त छ, तर यसरी प्रत्यक्ष जोडिने गरी राजनीति गरिएला भनेर सोचेको थिइनँ । अहिले राजनीतिमा प्रत्यक्ष सहभागिता नजनाए पनि घर बसेर राजनीतिक गतिविधिमा चासो दिनर नियालिरहेको हुन्छु’, उनी भन्छिन् ।

आइतबारदेखि करिश्माको स्नातकको पढाइ सुरु हुँदै छ । सन् २०२४ को अन्त्यसम्म स्नातक पूरा गरेर कुनै एउटा विचारसँग आबद्ध भई राजनीतिमा आउने उनको विचार छ । ‘फिल्ममा झण्डै १० वर्षसम्म व्यस्त भएर काम गरें । त्यो समयमा राजनीतिमा जाने सोच आएन । पछि बुझ्दै जाँदा, आफू परिपक्व हुँदै गएपछि देशविदेश घुमियो, सबैतिरको राजनीतिक अवस्था देखेपछि मुलुक पछाडि परेको कारण थाहा पाइयो। त्यसकारण राजनीतिमा आउने रुचि जाग्यो’, करिश्माले सुनाइन् ।