एमसीसी पास हुँदैमा कुनै विदेशी सेना आउँदैन : गृहमन्त्री खाँड

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् । गृहमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने स्पष्ट पारे ।

‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौं । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउदैन,’ गृहमन्त्री खाँडले भने । एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।

मन्त्री खाँडले एमसीसीबाट विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग पु¥याउने बताए। एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सडक निर्माणमा प्रयोग गरिने बताए ।

उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए ।
एमसीसी ऋण नभइ अनुदान भएको बताउँदै मन्त्री खाँडले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रम मात्रै भएको बताए ।

‘एमसीसी ऋण होइन, अनुदान हो,’ गृहमन्त्री खाँडले भने, ‘आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’