कांग्रेसको बुढो रूख बचाउन हरियो मतपत्र बनाउन खोजियो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपत्र चुनाव चिन्हको रङ्ग हरियो बनाउने विषयलाई लिएर कटाक्ष गरेका छन् । आज मोरङको रंगेलिमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसको बूढो रूख बचाउन निर्वाचन आयोगले हरियो मतपत्र बनाउन खोजेको बताएका छन् ।

कांग्रेसलाई सुकेको रुखको संज्ञा दिँदै ओलीले यस्तो बताएका हुन् । निर्वाचन आयोगले बैशाख ३० गते हुने निर्वाचनमा मतपत्र चुनाव चिन्हको रङ्ग बनाउने निर्णय गरेको थियो । ओलीले मङ्गलबारको एक कार्यक्रममा पनि आयोगको उक्त निर्णयको चर्काे आलोचना गरेका थिए ।

बिज्ञापन

साथै उनले सत्तारुढ कांग्रेसतिर आयोग ढल्केको आरोप लगाउँदै कांग्रेसलाई फाइदा पुग्नेगरी मतपत्रको रङ्ग हरियो बनाउन खोजेको टिप्पणी समेत गरेका छन् । ओलीले नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि आलोचना गरेका छन् ।

उनले माधव नेपालले एमाले छाडेपछि हाइसन्चो भएको बताएका छन् । कार्यक्रममा ओली पाच दलिय गठबन्धन विरुद्ध नै खनिएका थिए । उनले माओवादी पार्टी नभएर अन्योलको पोको मात्र भएको पनि दाबी गरेका छन् । ओलीले माओवादी पार्टी नै नभएकाले नअल्मलि एमालेमा आउन आग्रह गरेका छन् ।

साथै कार्यक्रममा रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर र वडाध्यक्षहरू दनेकपा (माओवादी केन्द्र)बाट विजयी बनेका थिए । मेयर बगडिया र उपमेयर खरालसहितलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।