बोनस सेयर बाँड्दै नेपाल टेलिकम

सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

टेलिकमले दोस्रो बजारमा कारोबार सुरु भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस र नगद लाभांश गरी कम्पनीले कूल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाबाट पारित गर्नुपर्ने छ । यस्तै, बोनस र नगद लाभांश वितरण गर्न अर्थमन्त्रालयले समेत स्वीकृती दिनुपर्ने छ ।​ लाभांश वितरण गर्न यही चैत २३ गते बुक क्लोज तथा २४ गते साधारण सभा बोलाइएको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्ने छ ।