संवैधानिक आयोगमा भएकाे नियुक्तिविरुद्धकाे रिटमा सुनुवाइ आज

काठमाडौं । तत्कालीन ओली सरकारले संवैधानिक आयोगका गरेका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

संवैधानिक निकायमा अध्यादेश जारी गरेर भएको नियुक्तिविरुद्धको रिटमा कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले आफूसहित पाँच न्यायाधीशको इजलास तोकेका छन्।

बिज्ञापन

संवैधानिक इजलासमा कार्की, न्यायाधीश मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभर श्रेष्ठ र ईश्वर खतिवडा रहेका छन्। संवैधानिक इजलसामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता ओमप्रकाश अर्यालयलगायतले दायर गरेको ८ थान रिट विचाराधीन रहेका छन्।

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा सिफारिस गरेका थिए।

यसरी भएको सिफारिस पुस १ मा प्रतिनिधि सभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो। सर्वोच्चमा शुक्रबार विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिको वैधानिकता बारे बहस हुने छ।