रुससँग वार्ताका लागि युक्रेनका ६ वटा शर्त

एजेन्सी । युक्रेनले रुससँग वार्ताका लागि विभिन्न ६ वटा शर्त अगाडि सारेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका हुन् ।

त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै रुससँगको शान्ति वार्ताका बेला सम्बोधन हुनुपर्ने प्राथमिकताका विष्यबारे बताएका हुन् ।

बिज्ञापन

रूसले युद्धको अन्त्य गर्नुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राख्ने उनको भनाइ छ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनःस्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तका रूपमा राखेका छन् ।

रूसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता सुरु भएको थियो । पटक पटक भएको वार्ता परिणाममुखी हुन भने सकेको छैन ।

पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो । सो वार्ता भिडियोमार्फत भएको थियो । त्यसको दुई दिनपछि युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग यूक्रेनी राष्ट्रपतिले नै सिधै चाडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए ।

गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गर्नुभएको थियो ।