
काठमाडौं । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्दै चरम गरिबीविरुद्ध एकजुट भएर लड्न सन् १९९३ देखि अक्टोबर १७ मा अन्तरराष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिकहरू गरिब हुन् भनी व्याख्या गरेको छ । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ । नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।



नेपालमा गरिबी निवारणका लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्बौ रुपैयाँका फरक–फरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रूपमा भने गरिबी घट्न सकेको छैन ।

सन् १९९६ मा नेपालको जनसङ्ख्याको करीब ४२ प्रतिशत गरिब रहेकामा २०१९ मा १८ दशमलव ७ प्रतिशतमा झरेको देखिन्छ ।