
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मूलधारको राजनीतिबाट क्रमशः किनारा लाग्दै गएका छन् । कांग्रेसको १४औँ महाधिवेशनपछि पौडेल सक्रिय भूमिकाबाट ओझेल परेका हुन् । आफू पक्षधर समूहबाट सभापति पदमा सर्वसम्मत् उम्मेदवार बन्न नसकेपछि महाधिवेशन प्रक्रियाबाट अलग बसेका उनी त्यसपछि केन्द्रीय राजनीतिबाट टाढिँदै गएका छन् ।

विगतमा आफू पक्षधर भनिएका नेता र परम्परम्परागत प्रतिस्पर्धी समूह दुवैले पौडेललाई भूमिका नदिँदा अहिले उनको राजनीतिक विरासत नै खतरामा पर्ने सङ्केत देखिएको छ। १४औँ महाधिवेशनपश्चात सभापति शेरबहादुर देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत् केही भूमिका दिन खोजेको देखिए पनि विगतमा उनको छत्रछायामा हुर्किएर नयाँ गुट सिर्जना गरेका नेताहरूले पनि पौडेललाई चटक्कै बिर्सिएको आरोप लाग्न थालेको छ ।



महाधिवेशनमा असहयोग गरेको भन्दै संस्थापनइतर खेमा पौडेलसँग असन्तुष्ट देखिन्छ । पार्टी नेतृत्व र सरकारसमेत आफैँ लिएका सभापति देउवा र उनी पक्षधरले पौडेललाई साथ लिएर हिँडेको अवस्था पनि छैन । विगतमा कार्यबाहक सभापति भइसकेका, पटकपटक शासकीय पदमा पुगेका र प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पौडेलको समग्र राजनीतिक जीवन नै खतरामा पुगको विश्लेषण गरिन थालेको छ ।

केन्द्रीय राजनीतिमा भूमिका नपाएका पौडेलको जिल्ला राजनीति पनि कमजोर हुँदै गएको छ। पौडेल २०४८ सालपछि हरेक संसदीय निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । ५ पटक लगातार निर्वाचित भएका उनी तनहुँकै अर्का पुराना नेता गोविन्दराज जोशीलाई पार्टीले कारबाही गरेपछि मतदाता विभाजित भएपछि २०७४ को निर्वाचनमा भने पराजित भए । उनको जिल्लाको राजनीतिमा पुराना सहयात्री जोशीले भाँजो हाल्दै आएका छन् । पौडेल र जोशीको अन्तरद्वन्द्वका कारण कांग्रेसको बलियो जनाधार भएको तनहुँमा अहिले पार्टी सङ्गठन अहिले कमजोर देखिएको छ ।
उमेरले ८० वर्ष नजिक पुगेका पौडेल आगामी निर्वाचनमा आफ्नो जनाधार बलियो बनाउन र विभाजित कार्यकर्ता फकाउन लौरो टेकेर गाउँगाउँ घुम्नुपर्ने अवस्था सिर्जना भएको छ । १३औँ महाधिवेशनमा सभापतिमा पराजित र १७औँ पटक प्रधानमन्त्री पदमा पराजित पौडेल कांग्रेसभित्र नीतिगत बहस गर्ने क्षमता भएका र तुलनात्मक रूपमा अरूभन्दा कम विवादित नेताका रूपमा चिनिन्छन् । उनको यही पृष्ठभूमिलाई उपयोग गर्दै आगामी निर्वाचनको नेतृत्व उनलाई दिनुपर्ने पौडेल निकट नेताहरूको दाबी छ ।
विद्यमान नेतृत्वलाई लिएर निर्वाचनमा जाँदा घाटा छ भन्ने कुरा कांग्रेसभित्र ओपन सेक्रेटझैँ छ । तर, २०५६ सालमा पार्टीको बिग्रिएको सङ्गठनलाई सुधार्न र मतदाता रिझाउन तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेझैँ अहिले सभापति देउवाले पौडेललाई अघि सार्नुपर्ने उनी निकट केन्द्रीय सदस्य मधु आचार्यको दाबी छ । ‘उहाँ जस्तो ठूलो पुँजीलाई पार्टीबाट निष्क्रिय बनाउने षड्यन्त्र भइरहेको छ, उनले द नेपालटपसँग भने, ‘महत्वपूर्ण व्यक्ति ओझेलमा पर्दा पार्टीलाई नै क्षति हुन्छ ।’ संसद् नचलेको बेलामा प्रतिपक्षी र अन्य दलहरूसँग भेटघाटमा रहेर कांग्रेससँगको ‘सम्वाद रिक्तता’लाई तोड्न पौडेलले पटकपटक भूमिका निर्वाह गरेका आचार्य स्मरण गर्छन्।
पौडेलले अहिले सक्रिय भूमिका नपाउनुमा उनी स्वयं पनि जिम्मेवार रहेका राजनीतिक विश्लेषकहरुको भनाइ छ । सङ्कीर्ण सोच, सानो घेराभित्र रमाउने र थोरै लोभमा पुकलित हुने स्वभावलाई सभापति देउवाले राम्रोसँग बुझेकाले उनलाई आवश्यकताअनुसार प्रयोग गर्दै आएका छन्। १४औँ महाधिवेशनमा आफू पक्षधरबाट सर्वसम्मत् उम्मेदवार बन्न नसकेपछि निष्क्रियझैँ बनेका पौडेललाई देउवाले मौन राख्न सफल भए ।
आफ्नो पक्षमा नखुलेपछि संस्थापनइतरको डा. शेखर कोइराला पक्षधरले बेवास्ता गरिररहेका बेला र अन्य दलहरूसँग एमसीसीका कारण कांग्रेसको सम्बन्धमा दरार आउँदै गर्दा पौडेललाई सक्रिय बनाएर देउवाले भूमिका दिएझैँ गरे । तर, त्यसपछि पौडेलको भूमिका नेपाली राजनीतिमा देखिएको छैन । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गठबन्धन निर्माण गर्ने र उम्मेदवार बनाउने विषयमा अरू नेता, कार्यकर्ताहरूको दौडधूप र सक्रियता जति छ, त्यो अनुपातमा पौडेल छायामा छन् । संस्थापन खेमाले भने पौडेललाई सम्माजनक भूमिका दिएको दाबी गरेको छ ।
प्रतिस्पर्धाबाट बाहिर बसेर निष्क्रिय रहेका उनलाई सभापति देउवाले वरिष्ठ नेताको मर्यादामा राखेको र पार्टी एवं सरकार सञ्चालनमा समन्वय गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको नेतृत्व दिनु नै पौडेलको योगदानको सम्मान भएको दाबी छ । देउवा निकटका नेता गोपालमान श्रेष्ठ भन्छन्, ‘रामचन्द्रजीलाई सभापतिले वरिष्ठ नेताको हैसियत दिनुभएकै छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक पनि उहाँ नै हुनुहुन्छ, अब उहाँलाई के चाहियो र ?’, उनले दोहो¥याए, ‘बरु मचाहिँ मिनिमाइज भएको छु, मलाईचाहिँ अन्यायमा पारिएको छ ।’