
इलाम — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको संसदीय निर्वाचन क्षेत्र इलाम–१, फिक्कल पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्याेदयबाट सूर्यको झण्डा लहराएको बताए ।
भीड देखेर आइतबार उत्साहित हुँदै ओलीले थप भने, ‘यत्रो आमसभा पाँच दलले सक्दैनन् ।’ तर, उक्त भीड त्यहीँ क्षेत्रका एमाले कार्यकर्ताहरूको नभएको नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका प्रवक्ता सञ्जीव राईले बताए ।
उनका अनुसार अन्यत्रबाट एमालेले फिक्कलमा कार्यकर्ताहरू ल्याएका हुन् । उपमहासचिव समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेखेका छन्, ‘एमाले–ओली गुट इलामको सुर्योदय नगरमा भएको भेला इलामको १० वटा पालिकाबाट १ गाडीका दरले जम्मा १० गाडी र बाँकी धरान–इटहरी–दमक–बिर्तामोडबाट १००० गाडीहरू आएका थिए ।’
जनसभामा सयौं मानिसहरू विभिन्न पार्टीबाट प्रवेश गरेको भन्ने एमाले दाबीको पनि राईले खण्डन गरेका छन् । गृह जिल्ला इलाम भएका राईले जम्मा २१ जना मात्र एमालेमा प्रवेश गरेको बताए ।
यससँगै फिक्कलमा ओलीले तालीको लागि गाली र राम्रै मनोरञ्जन दिएको भन्दै प्रवक्ता राईले ओलीको कटाक्ष गरे । आगामी निर्वाचनमा त्यस क्षेत्र (इलाम–१)मा एमाले तेस्रो हैसियतमा हुने पनि राईको दाबी छ ।
अध्यक्ष ओलीले भने एमालेलाई खनालको क्षेत्रमा निर्वाचन जित्नबाट कसैले रोक्न नसक्ने बताएका थिए