
धनगढी- म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढी उपमहानगरपालिका ४ रातोपुल स्थित नवजीवन अस्पताल कारबाहीमा परेको छ।

अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै आफन्तहरू उजुरी लिएर कार्यालय पुगेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर बिहीबार २ लाख रुपैयाँ जरिवाना गराएको छ ।



वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले अस्पताललाई सचेत गराउँदै २ लाख रुपैयाँ जरिवाना गरिएको बताए । उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए ।

उता अस्पतालका डाक्टर निरज अर्यालले बिरामीका आफन्तले जबरजस्ती औषधि लिएर गएको जिकिर गरे। उनले अस्पतालमा कार्यरत १०४ जना कर्मचारीको आफूले जिम्मेवारी लिन नसक्ने बताउँदै औषधि बेच्ने कर्मचारीलाई भने सचेत गराएको बताए ।
डाक्टर अर्यालले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले जरिवाना गरेको स्वीकार गरे ।