पल शाहलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत जाने तयारी

काठमाडौं — बलात्कार अभियोग लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँका आदेशविरुद्ध उच्च अदालत जाने तयारी गरिएको छ ।

शाहका कानून व्यवसायीले जिल्ला अदालतको आदेशविरुद्ध केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिनजानकारी दिएका छन् । शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन् ।

बिहीकार तनहुँ जिल्ला अदालतले शाहलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको थियो ।त्यस्तै, नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको थियो ।

मुद्दा

शाहले बलात्कार गरेको भन्दै ती नाबालिग गायिकाले तनहुँ र गैंडाकोटमा उजुरी दिएकी थिइन् । ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि शाह १५ फागुनमा आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए ।

७ वर्षीया किशोरी गायिकालाई उनले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षले जाहेरीमा आरोप लगाएका छन् । स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।