
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गर्ने भारत भ्रमणमा सहभागी हुने प्रनिधिमण्डलको गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए ।
अन्य निर्णयः
– अरुण–३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने गराउने ।
– विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्ड गठन गर्ने ।
– आयोजनाको बहुवर्षीय ठेक्कसम्बन्धि (दोस्रो संशोधन) मापदण्ड, २०७८ स्वीकृत गर्ने ।
– नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने ।
– गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने ।
– न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्कालाई नियुक्त गर्ने ।
– उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७८ स्वीकृत गर्ने ।
– नेपाल प्रहरीको रिक्त तीन अतिरिक्त महानिरीक्षकको पदमा बसन्तबहादुर पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्ने गरी रिक्त पदमा पदस्थापन गर्ने ।
– राष्ट्रिय भूमि आयोग गठन बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने । राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने ।