
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावविरुद्धको रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ हुँदैछ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको हो । रिट दर्ता गरेको झन्डै डेढ महिनापछि उक्त मुद्दाको सुनुवाइका लागि पालो आएको हो ।
गत फागुन १ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध प्रतिनिधि सभामा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
उक्त प्रस्ताव दर्ता भएपछि संघीय संसद सचिवालयले सूचनासमेत प्रकाशित गरेको थियो ।
महाभियोग प्रस्ताव दर्ता भएकै दिनदेखि राणा निलम्बनमा छन् भने उनको ठाउँमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको नेतृत्व गरिरहेका छन् ।
सोही महाभियोगको प्रस्ताव बदर गराई पाउँ भन्दै सर्वोच्च अदालतमा २ वटा छुट्टाछुट्टै रिट दर्ता भएको थियो ।
त्यसै गरी अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले महाभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गर्दै बदर गराई पाउँ भनेर फागुन ११ गते रिट दर्ता गरेका थिए । सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।
त्यस्तै अधिवक्ताहरू पृथ्वीनाथ राई, अनन्तदेव पराजुली, करुनाकर मल्लिक, यज्ञप्रसाद अधिकारी, त्रिलोकबहादुर चन्द, आकृति रायमाझीसहित ६ जनाले फागुन १२ गते दोस्रो रिट दर्ता गराएका थिए ।