आचारसंहिता कार्यान्वयन गर

स्थानीय निर्वाचन सफलताका साथ सम्पन्न गर्न निर्वाचन आयोगले शुक्रबारदेखि आचारसंहिता लागू गरेको छ । स्थानीय निर्वाचनका लागि मत खसाल्न मात्र ३५ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता लागू गरेको हो ।

आयोग आफैले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आचारसंहिता लागू गरिएको बताएको छ । निर्वाचन समयावधि निकै छोटो, दलहरूको तयारी निकै कम, कुनै पनि दलको वर्चस्व नरहेको र सम्भव भएसम्म निर्वाचन केही समयपछि धकेल्ने दलहरूको मनसायका कारण आचारसंहिता लागू हुँदाका बखतसम्म पनि निर्वाचनको माहोल भनेको जस्तो बनिसकेको छैन ।

दलहरूबाट निर्वाचन प्रचारका काम सुरु त भएका छन्, तर उभारमा आउन सकिरहेका भने छैनन् । विगतमा भन्दा यस पटकको निर्वाचन आचारसंहितामा निर्वाचन ऐनमा उल्लिखित केही ‘बोल्ड प्रोभिजन’ कार्यान्वयनमा ल्याइएका छन् ।

जनप्रतिनिधिले उम्मेदवारी दोह¥याउन चाहेमा राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने, आफ्ना कार्यकालमा कार्यान्वयनमा लगिएका कार्यक्रमको आर्थिक फरफारक गरिसक्नुपर्ने, तडकभडक र देखासिकीमा कमी गर्ने जस्ता कुराहरूले दलहरूलाई केही झस्काए र तर्साए पनि । उम्मेदवारीपूर्व राजीनामाको कुरा अदालतमा पुगेकाले विचाराधीन अवस्थामा छ ।

जे होस् अब स्थानीय निर्वाचन रोकिन सक्ने अवस्था छैन । त्यसैले पनि लागू गरिएको आचारसंहितालाई सबैले पालना गरी अघि बढ्नुको विकल्प छैन । निर्वाचनको मुखैमा आएर आचारसंहिताको उल्लङ्घन कसैका लागि पनि क्षम्य हुने देखिँदैन । आचारसंहिता सबैका लागि समान हुन्छ र यसको कार्यान्वयन समानरूपमा गरिनु जरुरी हुन्छ । यसका लागि विद्युतीय प्रचार सामग्रीमा केही कडाइ पनि गरिएको देखिन्छ ।

विद्युतीय सञ्चार माध्यममा विचार राख्न, प्रचारप्रसार गर्न, सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नपाइने व्यवस्था गरिएको छ । यसका साथै, गलत, भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झूटा साइट, एकाउन्ट सञ्चालन गर्न वा कसैको चरित्र हत्या हुने गरी व्यक्तिगत लाञ्छना लगाउन निषेध गरिएको छ ।
यसको अर्थ राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना राखी प्रचारप्रसार गर्न पाउने कुरामा रोक भने लगाइएको छैन ।
बरु दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टी–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन, बिक्री वितरण वा प्रदर्शन गर्न÷गराउन नहुने गरी रोक लगाइएको छ ।

दलका जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने संहिताले निर्देशन गरेको छ । आचार संहितामा उल्लेखित यी कुराहरु कुनै पनि राजनीतिक दल, तिनका उम्मेदवार वा उनीहरुको प्रचार प्रसार कार्यक्रमका लागि बाधक नभएको र सबैका लागि समान भएकाले आचारसंहिताको कार्यान्वयनमा सबै लागिपर्नुपर्छ ।