
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका महासचिव विप्लव सामू निर्वाचनलाई लिएर एक प्रस्ताव राखेका छन् ।
एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई सूर्य चिन्हबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा ओलीले विप्लवको दल दर्ता नभएकाले चुनाव सार्ने षड्यन्त्र भइरहेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।
उनले षड्यन्त्रमा नलाग्न सुझाव दिँदै दल दर्ताको समय दिँदा किन दर्ता नगरेको भन्दै प्रश्न समेत गरेका छन् । ओलीले विप्लवलाई चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न आग्रह समेत गरेका छन् ।
ओलीले भने “तपाईंलाई नेपाली जनताले अलिक इमानदार रूपमा चिन्छन् । तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रको मतियार नहुनुस् । तपाईंलाई इमानदार नेताको रूपमा बुझ्छन् । यद्यपि, तपाईंका नीतिसँग भन्नुपर्ने हुनसक्छ” ।