तनहुँमा काँग्रेस र एमालेबीच चुनावी तालमेल

नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरूबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति जुटेको हो ।

जोशीका छोरा दीपकराजले तनहुँका पालिकाहरूमा एमालेसँग तालमेल गर्ने सहमति भएको जानकारी दिएका छन् । एमालेसँग मिलेर तनहुँका सबै पालिकामा साझा उम्मेदवार बनाउने सहमति भएको उनको भनाइ छ । तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना गरी आठ सदस्यीय चुनाव परिचालन समिति समेत गठन गरिएको छ । दीपकराजले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको उनले बताए । ‘कांग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुने भन्ने के छ र? बुवालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दाखेरी हामी चुप लागेर बस्ने कुरो त हुँदैन । पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर,’ उनले भने ।

शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘प्रारम्भिक छलफलमा सहकार्य गरेर जाने सहमति भएको छ । सहकार्यका लागि दुवै पक्ष सकारात्मक छौँ,’ उनले भने ।

कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेको छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ । ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागवण्डा हुनेछ,’ उनले भने ।

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो । पौडेल त्यसबेला एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।

श्रेष्ठ अहिले एकीकृत समाजवादी पार्टीका तर्फबाट श्रममन्त्री छन् । जोशी समूह र एमालेबीच हुने चुनावी तालमेलले तनहुँमा नेपाली का‌ंग्रेससहित सत्ता गठबन्धनलाई संकट पर्ने सक्ने आकलन गरिएको छ ।