निर्वाचनका बेला कैलाली, कञ्चनपुरसंग जोडिएका सीमा नाका सिल हुने

धनगढी- स्थानीय तहको निर्वाचनको बेला कैलाली, कञ्चनपुरसंग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्ने सहमति भएको छ ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ४८ घण्टा सीमा सिल गर्ने सहमति भएको हो । निर्वाचन केन्द्रित शान्ति सुरक्षा तथा सीमा व्यवस्थापनका विषयमा शनिबार कैलालीको गोदावरीमा बसेको नेपाल भारतका अधिकारीहरुको दुई देशीय समन्वयात्मक बैठकले निर्वाचन हुनुभन्दा अगाडिबाट सीमा बन्द गर्ने सहमति गरेको हो ।

बिज्ञापन

गृह मन्त्रालयको आदेश अनुसार भारतीय सुरक्षा निकायसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था, सीमा विवाद तथा सिमामा देखिएका दुवै देशका समस्याको विषयमा छलफल गरिएको छ । बैठकले चुनावको दिनभन्दा ४८ घण्टा अगाडि सिमानाका सिल गर्ने गर्ने निर्णय गरेको  थापाले बताए ।

अत्यावश्यक सेवामा विवाह, अन्तिम दाहसंस्कार, बिरामी रेफर केस र पेट्रोलियम पदार्थको ओसारपसार पर्ने उनले बताए । त्यस्तै निर्वाचन लक्षित बैठकले चुनावी तयारी बढाएको बताउँदै थापाले दुवैदेशबीच सुमधुर सम्बन्ध स्थापित गर्नेगरी थप विभिन्न विषयमा छलफल गरेको बताएका छन् ।

नेपालमा हुने निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि सीमा बन्द गरेर सहयोग गर्ने लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी संजय कुमार सिंहले बताएका छन् । बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका अधिकारीले सूचना आदानप्रदान गर्ने र सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती गर्ने निर्णय पनि गरेको कैलाली जिल्ला प्रशासन कार्यालयका अधिकृत शिवराज जोशीले बताए ।

पछिल्लो समय लागुऔषधको ओसारपसारको घटना बढेको छ । त्यस्तै, चोरी तस्करी नियन्त्रणका लागि एक–आपसमा समन्वय गरेर काम गर्ने दुवै देशका अधिकारी सहमत भएको जनाइएको छ ।बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय, सुरक्षा निकायका प्रमुख, सुरक्षा समितिका पदाधिकारी, भन्सार र वनका प्रमुखको उपस्थिति रहेको थियो । यस्तै, भारतबाट एडीएम सञ्जयकुमार सिंहको नेतृत्वमा सुरक्षा निकाय, भन्सार र वनका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस्तै, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको बेला कञ्चनपुरसित जोडिएका नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द गर्ने सहमति भएको छ । महेन्द्रनगरमा बसेको केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठकले सो निर्णय गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बैठकमा स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा छलफल भएको जानकारी दिए । कञ्चनपुरसित सीमा जोडिएका भारतीय नाका वैशाख ३० गतेको ४८ घण्टाअघिदेखि बन्द हुनेछन् ।

अस्पताल र किरियापुत्री लगायत विशेष कामलाई भने नाकामा आवागमन सहज गर्ने जनाइएको छ । त्यसैगरी प्रजिअ पाण्डेका अनुसार नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत बैठकमा छलफल भएको छ ।सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने विषयमा सहमत भएको प्रजिअ पाण्डेको भनाइ छ ।