गृह मन्त्रालयको ‘सर्कुलर’ सँगै वंशजका आधारमा नागरिकता वितरण थालियो

 

बिज्ञापन

झापा– जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए ।

जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन ।

गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । फलस्वरुप जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन् ।

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले झापालगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरुको भीड बढेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार विगत दुई दिनमा झापा जिल्ला प्रशासन कार्यालयबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका १३५ सन्तानले वंशजका आधारमा नागरिकता पाएका छन् ।