प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता :  गुमानसिंह अर्याल

गुमानसिंह अर्यालले कहिल्यै हार ब्यहोर्नु परेको छैन । बेँसीशहरका ६५ वर्षीय अर्याल प्रधानपञ्चदेखि हालको स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता बन्न सफल भएका छन् । बेँसीशहर नगरपालिका वडा नं ९ का अर्याल बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै पुनःदोस्रो कार्यकालका लागि नगर प्रमुख बन्न सफल भएका हुन् ।

पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा विसं २०४३ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक जनप्रतिनिधि अर्थात बेँसीशहर गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए । त्यतिबेला बमबहादुर अर्याल, रणबहादुर अधिकारी, केन्द्रबहादुर सिलवाल, कमलबहादुर पौडेल, गणेशबहादुर रावललगायत सात जना उम्मेदवारलाई हराउँदै उनी प्रधानपञ्च भएका थिए । विसं २०४६ को परिवर्तसँगै गाउँ पञ्चायत गाविसमा परिणत भयो । सोपश्चात् विसं २०४९ को स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) ले बालकृष्ण बराललाई गाविस अध्यक्षमा र अर्याललाई वडा नं ८ को अध्यक्षको उम्मेदवार बनाएको थियो । नेपाली काँग्रेसका रणबहादुर अधिकारीसँग चुनावी प्रतिस्पर्धी गरेका बराल पराजित भए तर, भीमबहादुर कुँवरलाई पराजित गर्दै अर्याल वडाध्यक्षमा निर्वाचित भए ।विसं २०५४ मा भएको स्थानीय निर्वाचनमा एमालेले अर्याललाई पुनःबेँसीशहर गाविसको अध्यक्ष पदको उम्मेदवार बनायो ।

मोहनबहादुर थापालाई उपाध्यक्षको टिकट दियो । तर, हारे । यता काँग्रेस उम्मेदवार बेँसीशहरका तिलकबहादुर पौडेललाई हराउँदै अर्याल भने गाविस अध्यक्षमा निर्वाचित भए ।विसं २०५४ मा तिलकबहादुर पौडेललाई हराएका अर्यालसँग प्रतिस्पर्धा गर्न पौडेलकै जेठा छोरा भेषबहादुर पौडेल विसं २०७४ को निर्वाचनमा होमिए । तर, अर्यालले २९७ मतान्तरले पौडेललाई हराए । अर्यालले त्यतिबेला सात हजार ६२४ मत प्राप्त गरेका थिए भने पौडेलले सात हजार ३२७  मत प्राप्त गरेका थिए । सो बेला नेकपा (माओवादी केन्द्र) सँग मिलेर एमाले चुनावमा होमिएको थियो ।

तर यसपटकको स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन प्रतिस्पर्धामा लागेको एमालेको उम्मेदवार अर्यालले काँग्रेस, गठबन्धको तर्फबाट काँग्रेसका श्रीकान्त घिमिरेलाई प्रमुखमा पछि पार्दै दुई हजार आठको फराकिलो मतान्तरले जित हासिल गरेका छन् । अर्यालले नौ हजार ४७९ मत प्राप्त गरेका छन् भने काँग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गरे । विसं २०३७ देखि कानुन व्यवसायमा लागेका अर्याल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी जिल्लास्थित बार इकाइको अध्यक्षसमेत भइसकेका छन् । हाल एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रहेका उनले  यसअघि जिल्ला कमिटी लमजुङको दुई कार्यकाल उपाध्यक्ष र पटकपटक कमिटीमा बसेर काम गरिसकेका छन् ।

अर्याल करिब चार दशकदेखि जनप्रतिनिधमा क्रियाशील रहँदै आएका छन् । उनी  विसं २०४३ देखि हालसम्म भएका पाँच वटा चुनावमा निरन्तर विजयी यात्रामा अघि बढिरहेका छन् । उनले कहिल्यै हार बेहोर्नु परेको छैन । जनताको निःस्वार्थ सेवाको परिणामले आफू लगातार जनप्रतिनिधि बन्न सफल बनेको उनको भनाइ छ ।‘नगरलाई समानुपातिक ढङ्गले विकसित बनाउने, सबैलाई समेटेर समावेशी सिद्धान्तअनुसार नागरिकको सम्मान गर्दै अघि बढिरहन्छु’, अर्यालले भने । राजनीतिमा विश्राम लिनेबारे सोच्ने बेला नभएको उनी तर्क गर्छन् ।