
काठमाडौँ । मङ्कीपक्सका ८० भन्दा बढी केसहरू कम्तीमा १२ देशमा पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कुनै पनि देशको नाम नलिइकन थप ५० सन्दिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ। अझै बढी केसहरू बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ ।

अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरूमा सङ्क्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मङ्कीपक्स बढी मात्रामा देखिन थालेको छ ।बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल सङ्क्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश सङ्क्रमित केही हप्तामा निको हुन्छन् ।



भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मङ्कीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकि दुई भाइरसहरू निकै समान छन् ।हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्विडेनमा केसहरू पुष्टि गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा डब्ल्यूएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरूमा फैलिएको जनाएको छ ।के नेपालमा जोखिम छ ?

अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन् । यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ ।नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम चालिएको छैन । सरकारले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले निगरानी बढाउनेबारे आफूहरू सचेत रहेको बताए । ‘सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ,’ उनले भने, ‘अहिलेसम्म अन्तरराष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन ।’उनका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन् ।