ओलीको ब्यङ्ग्यः प्रधानमन्त्री देउवाको वडामै कांग्रेस हार्‍यो, बजेट नजाने भयो !

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा कांग्रेसले हारेकोप्रति टिप्पणी गरेका छन्।बिहीबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाको वडामा हारेकोप्रति टिप्पणी गरेका हुन्।उनले अगाडि थपे, ‘रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैन भनियो। संयोगकै कुरा हो, डडेलधुरामा मेडिकल कलेज जाने भएछ।

कुन पालिकामा कांग्रेसले जितेको छ त्यहाँ जाने होला। अमरगढी जितेको छ कि छैन? अमरगढी कांग्रेसले जितेको भए त ठीकै छ नत्र कुन कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज। सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा चाहिँ केही पनि जाने भएन, किनभनेर त्यहाँ रुखले केही पनि जितेन कि क्या हो। लोकतन्त्रको हरिबिजोग अरु के हुन्छ।’ चुनावअघि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कांग्रेसले नजितेको स्थानीय तहमा बजेट नपठाउने भनेर गरेको भाषण भाइरल भएको थियो। उक्त भनाइप्रति ओलीले टिप्पणी गरेका हुन्।