डोनबासबाट पछि हट्ने तयारीमा युक्रेन

युक्रेनले डोनबास क्षेत्रको प्रतिरक्षाका लागि सबै प्रयास गरिरहेको तर पछि हट्न बाध्य हुनुपर्ने स्थिति आएको बताएको छ । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी क्षेत्रमा रुसी सुरक्षाबलहरूको घेराबन्दीलाई रोक्न सम्पूर्ण प्रयास जारी राखेको बताएका छन् ।

रुसले डोनबासमा व्यापक संख्यामा आर्टिलरी र रिजर्भ सैनिकहरूको उपयोग गरिरहेको उनको भनाइ छ । ‘क्षेप्यास्त्र तथा लडाकू विमानबाट उनीहरूले लगातार आक्रमण गरिरहेका छन्,’ जेलेन्स्कीले दैनिक सम्बोधनका क्रममा बताए । ‘हामीसँग भएको सुरक्षा स्रोतले भ्याएसम्म हामी आफ्नो भूमिको सुरक्षा गरिरहेका छौं,’ उनले थपे ।

बिज्ञापन

पश्चिमी मुलुकहरूसँग भारीभरकम हतियार ल्याएर युद्धको दिशा बदल्ने आशा युक्रेनले गरिरहेको छ । युक्रेनी सैनिकहरू डोनबासमा लगभग घेरिइसकेको र त्यहाँबाट पछि हट्न बाध्य भएको खबर आइरहेको बेलामा जेलेन्स्कीको भनाइ सार्वजनिक भएको हो । युक्रेनी सैनिकहरूको प्रतिकार व्यर्थ हुँदै गएको देखिन्छ ।तर रुसलाई यो युद्ध कुनै पनि हालतमा जित्न नदिनका लागि अमेरिका र उसका सहयोगी राष्ट्रहरू युक्रेनलाई लाखौं डलरका घातक हतियार दिइरहेका छन् ।