
ललितपुर- ललितपुरको गोदावरी नगरपालिकामा एक युवक मृत फेला परेका छन् । गोदावरी नगरपालिका–६ लेले पीआईए पार्कनजिकै सडकबाट १० फिट तल ढल खनेको स्थानमा मृतक फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मृत्यु हुनेमा गोदावरी–११ चापागाउँका ३४ वर्षीय विज्ञान देशार रहेको परिसर प्रवक्ता एवं प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार देशारको शवसँगै उनैले चलाएको मोटरसाइकल पनि ढल खनेको खोचमा भेटिएको छ ।आइतबार राति १० बजे नजिकैको होटलमा खाना खाइसकेर जाने क्रममा मोटरसाइकलसँगै देशार ढल खनेको स्थानमा खसेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले पनि प्रारम्भिक अनुसन्धानमा दुर्घटनाकै कारण उनको मृत्यु भएको जनाएको छ ।
बिज्ञापन



