कैलाली : श्रीमान् झुण्डिएको र श्रीमती घाँटी रेटिएको अवस्थामा फेला

कैलालीको गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पदमा ऐर मृत फेला परेका ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

हेमबहादुर घर छेउकै चिलाउनको रुखमा झुण्डिएको अवस्थामा र पदमा कोठामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन‍् । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रवीन्द्र पाण्डेले मृत दुवै जनाको घटना मुचुल्कापश्चात शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए।घटना विवरणअनुसार सोमबार साँझ हेम बहादुर, पदमा र कान्छी बुहारीलेसँगै खाना खाएका थिए। खाना खाएपछि ऐर दम्पत्तिले टिभी हेरिरहेका थिए। बुहारी भने खाना खाएर अर्को कोठामा सुत्न गइसकेकी थिइन् ।

बिज्ञापन

बिहान छिमेकीहरूले घर नजिकैको चिलाउनेको रुखमा हेमबहादुर झुण्डिएको देखेपछि बुहारीलाई खबर गरेका थिए। बुहारीले उठेर सासु ससुराको कोठामा हेर्दा पदमा पनि रक्ताम्य भएर ढोका नजिकै लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख रवीन्द्र पाण्डेले घटनाको प्रकृति हेर्दा श्रीमान्ले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने बताए।

‘अर्को कोठामा सुतिरहेकी बुहारीले, पंखाको आवाजले राति केही पनि थाहा नपाएको बताएकी छिन, पदमाको घाँटीमा धारिलो हतियारको घाउ पनि छ, पदमाको शव भेटिएको नजिकैको दराजको छेउमा रगत लागेको खुकुरी पनि भेटिएको छ’ डिएसपी पाण्डेले भने। ‘घटनाको प्रकृति हेर्दा श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिन्छ।’तर प्रहरीले अरू कोणबाट पनि अनुसन्धान भइरहेको जनाएको छ। मृतक दम्पत्तिका तीन छोराहरू छन्। एउटा छोरा नेपाल प्रहरीमै बझाङमा कार्यरत छन् भने माइलो छोरो कामका लागि भारतमा छन् । कान्छो छोरो स्काभेटर चालक रहेकाले कान्छी बुहारी मात्र घरमा रहेको प्रहरीले जनाएको छ।